पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदी किनार लागुऔषध दुर्व्यसनीको अखडा बन्दै गइरहेको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका–३ को नदी किनारलाई गाउँभन्दा बाहिरका विभिन्न स्थानबाट आएका व्यक्तिले लागुऔषधको अखडा बनाएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय मङ्गुराम बोटेले साँझपख मोटरसाइकलमा आएका व्यक्तिहरूले नदी किनारमा सवारी पार्किङ गर्दै तटबन्ध गरेको स्थानमा गएर गाँजालगायतका लागुऔषध सेवन गर्ने गरेको बताउनुभयो । “म माछा मार्नका लागि नियमित आउजाउ गर्दा यहाँ साँझको बेलामा मान्छे आएर चुरोट, गाँजा तथा बियर खाएको देख्ने गरेको छु”, उहाँले भन्नुभयो, “बाइकमा आउँछन्, अलिपर बाइक पार्किङ गरेर ग्याबिन भरेको ढुङ्गामाथि बसेर धुँवा उडाउने गरेका छन् ।” आफ्ना गाउँका भन्दा पनि बाहिरी गाउँबाट नचिनेका मान्छे यहाँ आउने गरेको बोटेको भनाइ छ ।

“केही मान्छे नियमित यहाँ देख्ने गरेको छु, एक÷दुई जना व्यक्ति भने लामो समयसम्म यहाँ बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “सायद ती व्यक्तिले लागुपदार्थ ल्याएर अन्य व्यक्तिलाई खुवाउने गरेका होलान् ।” बाहिरबाट आएका व्यक्तिले चुरोट, गाँजा खाएर फालेका ठुटो तथा बियरका बोतलहरू नदी किनारमा छरपस्टै फालिएका छन् । “बाहिरबाट आउने मान्छेले ल्याएका खानेकुरा तथा प्लास्टिक सामान नदी किनारमा फालिएका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा नदी किनार प्रदूषितसमेत बनेको छ ।रासस