खेल क्षेत्रमै सम्भावना बोकेका खेलाडी पछिल्लो समय वैदेशिक रोजगारका लागि आकर्षित भइरहेका छन् ।

रामपुर नगरपालिका–७ किसानबारी बस्ने असिम राना आफ्नै खर्चमा खेलमा लगानी गरेर प्रतिस्पर्धा गर्नुपर्दा खेलाडीलाई समस्या पर्ने गरेको बताउनुहुन्छ । आठवर्षदेखि भलिबल खेलमा आबद्ध उहाँ अहिले २४ वर्षको हुनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरसम्मको खेलसमेत खेलिसक्नुभएको छ । कक्षा १२ उत्तीर्णपश्चात् अध्ययनलाई बीचमै छाडेर खेलमा होमिनुभएका उहाँ अहिले भने आर्थिक समस्याका कारण स्वदेशमै खेलबाट भविष्य नदेखेपछि वैदेशिक यात्रा तय गर्नुभएको छ ।

“खेल खेल्ने रुचि र इच्छा धेरै भएपनि आर्थिक सङ्कटले भलिबलमा जीवन बिताउन सक्छु भन्ने सपना देखिनँ”, उहाँले भन्नुभयो,“खेलाडी पैसाले भरिपूर्ण हँुदैन, आफँैले लगानी गर्नुपर्दा यस क्षेत्रलाई छाडेर वैदेशिक रोजगारको सपना बुनेको छु ।”

राज्यले स्तर छुट्याएर राम्रो खेलाडी स्वदेशमै टिकाइराख्न भत्ताको व्यवस्था, रोजगारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । खेलाडी आफैँले लगानी गरेर खेल खेल्नुपर्दा यसबाट भविष्य नदेखेको उहाँको भनाइ छ । खेल खेलेर विजयी हुँदामात्र पैसा हुने नत्र आफैँले सबै खर्च जुटाउनुपर्दा कठिन छ । आफ्नै खर्च गरेर अन्यत्र प्रतिस्पर्धामा जानुपर्दा खेलाडीलाई समस्याले पिरोल्ने गरिरहेको छ ।

पूर्वखोला गाउँपालिका–६ हेक्लाङका २२ वर्षीय देउबहादुर सिंजाली पाँचवर्षदेखि भलिबल खेल खेल्दै आउनुभएको छ । कक्षा १२ सम्मको अध्ययन गर्नुभएका उहाँ खेल क्षेत्रबाट राम्रो गर्छु भन्ने सपना बोकेर सो क्षेत्रमा प्रवेश गर्नुभयो । खेल खेल्दै जाँदा आर्थिक समस्याका कारण उहाँपनि वैदेशिक रोजगारमा जाने तयारीमा हुनुहुन्छ । प्रतियोगिता हुँदामात्रै खेल खेलाइने भएकाले अन्य समय खाली बस्नुपर्दा आर्थिक उपाजर्नमा समस्या परिरहेको उहाँको गुनासो छ । रासस