भक्तपुर मध्यपुरथिमि नगरपालिका–२ सानोथिमि क्षेत्रमा सञ्चालित मातृभूमि इङ्ग्लिस स्कुलले यस शैक्षिकसत्रका लागि अभिभावकसँग कक्षा १ को मासिक शुल्क रु ३० हजार असुल्यो । मध्यपुरथिमि नगरपालिकाले गठन गरेको अनुगमन समितिले गरेको अनुगमनमा गत वर्षमा लिँदै आएको शुल्कमा यस वर्ष प्रत्येक कक्षामा मासिक शुल्क रु पाँच हजार वृद्धि गरेको पाइएको छ । भर्ना शुल्क, वार्षिक शुल्क, धरौटी र अन्यसमेत गर्दा पहिलो महिनामै रु एक लाख विभिन्न शीर्षकमा शुल्क लिएको पाइएको छ ।
मध्यपुरथिमि–१ लोकन्थलीमा रहेको निष्ट इङ्लिस स्कुलले यस वर्षदेखि कक्षा १ मा मासिक शुल्क रु २५ हजार असुल्यो । भर्ना शुल्क र विभिन्न शीर्षकमा लिएको शुल्क गरी सुरुमै करिब रु ७० हजार विद्यार्थीसँग उठाएको पाइयो ।
मध्यपुरथिमि–९ बोडेमा गत वर्षदेखि नगरपालिकामा दर्ता नै नगरी संस्कार गुरुकूल विद्यालय सञ्चालन गरी कक्षा ८ सम्म अध्ययन गरायो । यो विद्यालयले यो वर्ष पनि कक्षा १ मा मासिक रु १७ हजार र भर्ना र अन्य विभिन्न शीर्षकका शुल्क गरेर रु ६० हजार असुुल्यो ।
अभिभावक सङ्घसम्म पुगेका विद्यालयका यी नाम र शुल्क केही उदाहरण मात्रै हुन् । मध्यपुरथिमिभित्र सञ्चालित यस्ता कयौँ विद्यालयले मनोमानीरूपमा शुल्क उठाएर विद्यार्थी र अभिभावकलाई समस्यामा पारेपछि त्यस्ता विद्यालयलाई मध्यपुरथिमि नगरपालिकाले कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।रासस