‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट प्रसारण हुने भएको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गर्नेछन् ।

नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि प्रसारण हुने टेलिभिजनका महाप्रबन्धक फूलमान बलले जानकारी दिनुभयो । “टेलिभिजनले दुवै ‘सो’ मा मिडिया पार्टनरका रूपमा सहकार्य गरेको छ । नेपाली भाषा, कला तथा मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई विश्वमा रहेका बढीभन्दा बढी नेपालीसम्म पु¥याउनु हाम्रो उदेश्य हो”, महाप्रबन्धक बलले भन्नुभयो, “यो कार्यक्रमले विश्वभर रहेका नेपालीलाई एउटै मञ्चमा ल्याउन सफल भएको छ । यसका विजेताले आकर्षक राशिको पुरस्कार त पाउँछन् नै त्योभन्दा पनि सोमार्फत संस्कृति प्रवर्द्धनमा गरिएको प्रयास उल्लेखनीय छ ।”

त्यसैगरी, नृत्यसँग सम्बन्धित ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण हुनेछ । दुवै सोहरू तीस–तीस एपिसोडको हुने समेत उहाँले जानकारी दिनुभयो । यी कार्यक्रमको महत्वलाई बुझेर नेपाल टेलिभिजनले ‘प्राइम’ समयमै प्रसारणको व्यवस्था गरेको र दुवै कार्यक्रम एक घन्टा दश मिनेटको हुने महाप्रबन्धक बलले जानकारी दिनुभयो ।

नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरेको हो ।रासस