दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र विधिमा आधारित व्यवस्था जोखिममा परेको भन्दै अष्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कूटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ ।

क्यानबेराले गत सोमबार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवदेनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको हो ।

बढ्दो चिनियाँ गतिविधिबाट अस्ट्रेलियाको राष्ट्रिय हितमा प्रतिकूल असर पर्नसक्ने उल्लेख गर्दै प्रतिवेदनमा हिन्द–प्रशान्त क्षेत्रमा प्रमुख शक्तिबीचको प्रतिस्पर्धाले अष्ट्रेलियालाई भारतलगायत शक्ति राष्ट्रसँग सहकार्य र साझेदारी गर्नुपर्ने सुझाव दिइएको हो । संयुक्त राज्य अमेरिकाको हिन्द–प्रशान्त क्षेत्रमा एकध्रुवीय नेतृत्व नरहेको र चीन–अमेरिकाबीचको तीव्र प्रतिस्पर्धा द्वन्द्वको कारक बन्नसक्ने भएकाले त्यसतर्फ सचेत हुन सुझाइएको छ ।

“अष्ट्रेलियाले जापान र भारतलगायत प्रमुख शक्तिहरूसँग आफ्नो सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्छ, क्यानबेराले क्षेत्रीय एकता र विकासका लागि लगानी गर्न आवश्यक छ,” प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदन अस्ट्रेलियाको रक्षा बलका पूर्व प्रमुख एङ्गस ह्युस्टन र पूर्व रक्षामन्त्री स्टीफन स्मिथले तयार पारेको प्रतिवेदनमा रक्षा र राष्ट्रिय सुरक्षा खर्चमा वृद्धि, राष्ट्रिय खुफियाका तत्वहरूको पुनर्गठन र साइबर सुरक्षामा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिइएको छ । रासस