मजदुरको हकहित र सुरक्षाको लागि रामपुर नगरपालिकाले बीमा कार्यक्रम ल्याएपछि मजदुर खुसी छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बीमा कार्यक्रम सुरु गरेको हो ।

रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागत रुपमा मजदुरको बीमा गरिदिएको छ । बीमा कार्यक्रमले मजदुरलाई धेरै राहत पुगेको रामपुर–५ कृषिटोल बस्ने श्यामकुमार श्रेष्ठ बताउनुहुन्छ । उहाँ यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आउनुभएको छ । केही समय अघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते हुनुभयो ।

श्रेष्ठको सबै उपचार खर्च नगरपालिकाले बीमामार्फत व्यहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी हुनुुहुन्छ ।“काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुरवर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैप¥यो, बीमा गरेपछि उपचार खर्च मजदुरले व्यहोर्न परेन, नगरपालिकाले ल्याएको बीमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बीमाले ढुक्कको अनुभूति भएको छ” उहाँले खुसी हँुदै भन्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बीमा गरिएको बताउनुभयो । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने प्रमुख प्रशासकिय अधिकृत न्यौपाने बताउनुहुन्छ ।

घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ को जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बीमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ ।

“जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गतवर्षदेखि दुर्घटना बीमा सुरु गरेका छौँ”उहाँले भन्नुभयो–“नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ” । मजदुरको हकहित र अधिकारको लागि विसं २०७२ मा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् ।

यस कार्यले मजदुर सङ्गठित हुन थालेका छन् । संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै रु एक लाखसम्मको दुर्घटना बीमा कार्य सुरु गरेको थियो । भवितव्य हुने ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हुँदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बीमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “सानातिना दुर्घटनाका उपचारखर्च समितिले रु एक लाखसम्म गरिदिएको बीमाले पुग्ने गरेपनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैले जुटाउनुपर्दा उपचारमा समस्या भयो, दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँधौँ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ” ।रासस