नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् ।

सेतापानीमा विसं २०६१÷६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन पाए पनि अहिले नापीको काम नै सुरु हँुदा अब जग्गाधनी पुर्जा पाउने विश्वास भएको स्थानीय यादवकुमारी महतोले बताउनुभयो । मध्यविन्दु नगरपालिका–२ को सेहरीमा नारायणी नदीले जग्गा कटान गरेपछि सुरक्षित स्थानको खोजीमा सेतापानी पुग्नुभएकी महतोले विगतमा बस्ती बस्दा गर्नुपरेको सङ्घर्ष निकै कहालीलाग्दो भएको स्मरण गर्नुभयो ।

“स्याउलाले बारेर घर बनाएको कहिले भत्काउने, कहिले आगो लगाउने, द्वन्द्वकाल थियो निकै डर लाग्थ्यो”, उहाँले भन्नुभयो, “के गर्ने उता नारायणीले बगायो । यही सबै सहेर बसेको, अब त नापीको काम सुरु भयो । मेयरसरहरू पनि आउनुभएको छ । अबचाहिँ जग्गा पाउँछ भन्ने विश्वास लागेको छ ।”

स्थानीय लक्ष्मी विकले जग्गाधनी पुर्जा नहुँदा निकै समस्या भोगेको जनाउँदै अब सजिलो हुने बताउनुभयो । उन्नाइस वर्षदेखि बस्दै आएको जमिनको पुर्जा आउने थाहा पाउँदा खुसी लागेको स्थानीय राधिका चौधरीले सुनाउनुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम सुरु भएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले जानकारी दिनुभयो ।