सारङ्गी संस्कृति र गायन हराउन थालेपछि गन्धर्व समुदायका ज्येष्ठ नागरिक चिन्तित हुन थालेका छन् । पश्चिमा संस्कृतिको प्रभावले नेपाली संस्कृति ओझेलमा पर्दै गएपछि यसको संरक्षण हुनुपर्ने उनीहरूको भनाइ छ ।

पोखरा बाटुलेचौरका खिमबहादुर गन्धर्व ८८ वर्ष पुग्नुभयो । उमेर छँदा सारङ्गी बजाएर गाउँदै हिँडेको उहाँलाई निकै याद आउँछ । उहाँ लोक गायक झलकमान गन्धर्वका साथी पनि हुनुहुन्छ । उहाँलाई पछिल्लो समय सारङ्गी वादन हराउँदै जान थालेकोमा चिन्ता लाग्छ । “अहिलेका केटाहरू गीतार, हार्मोनियम, किबोर्ड केके भन्छन् । यस्तै छ सिक्न त्यति सारो रुचि गर्दैनन्”, खिमबहादुरले भन्नुभयो, “सारङ्गी त हाम्रो संस्कृति हो नि । त्यही भएर हराउँछ की भन्ने साह्रै चिन्ता लाग्छ ।”

सिक्न चाहनेका लागि सिकाउन आफू तत्पर रहेको उहाँले सुनाउनुभयो । “अलि अलि चासो लिएर आउनेलाई सिकाउने गरेको छु”, उहाँले भन्नुभयो, “गीत गाउन त घाँटीले साथ दिँदैन । सारङ्गी लिएर यसो गर उसो गर भनेर भन्न सक्छु । अनि सिकाउँछु पनि ।” गोरखा नगरपालिका–७ धारापानीका मङ्गलप्रसाद गान्धारी पनि युवापुस्ताले सारङ्गी बजाउन नखोज्ने बताउनुहुन्छ । “हाम्रा पालामा सारङ्गी बोकेर घटना सुनाउन कता कता पुगिन्थ्यो । अहिले त त्यो छैन”, मङ्गलप्रसादले भन्नुभयो, “हामी जसरी गाउँ गाउँ नहिँडे पनि बजाउन मात्रै सिकिदिए नि हुन्थ्यो भन्ने हुन्छ ।”

गन्धर्व संस्कृति जोगाउन यसको महत्व बुझाउनुपर्ने गान्धारीको भनाइ छ । संस्कृति जोगाउनका लागि सरकारले बजेट छुट्याए पनि आफ्ना समुदाय माग गर्नै नजाने उहाँले बताउनुभयो । “यसलाई जोगाउन हाम्रो संंस्कृतिको महत्वबारे नयाँ पुस्तालाई बुझाउनुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले बजेट त छुट्याएको हुन्छ नि हाम्रो मान्छेहरू माग गर्नै जान्नन् ।” रासस