जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गरिएको आठ वर्ष वितिसक्दा पनि पूरा नहुँदा खाल्डाखुल्डीले सवारी सञ्चालनमा समस्या पर्दै आएको छ । खाल्डाखुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख पाएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले बताउनुभयो । सङ्घीय सरकारले ठेक्का आह्वान गरेको योजनामा निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा जीर्ण सडकमा समस्या हुने गरको उहाँको भनाइ थियो ।
अस्पतालजस्तो संवेदनशील स्थानअघिको सडकलाई ग्राभेल हालेर सहजरुपमा सवारी साधन हिँड्ने वातावरण बनाउन पटकपटक गरिएको अनुरोधसमेत नमान्दा धेरैले दुःख पाएका छन् । आर्थिक वर्ष २०७५÷२०७६ मै सक्ने गरी विसं २०७२ मै ठेक्का भएको सात किमी सडक आठ वर्षदेखि अलपत्र छ । सुरुमा सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जा नदिई काम अघि बढाउन नदिने भनी विरोध गरेपछि सडक विस्तार हुनसकेको थिएन ।
केन्द्रबिन्दुबाट दायाँबायाँ ११÷११ मिटर गरी २२ मिटरको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले गरेको बोलपत्र आह्वान गरेको थियो । सात किमीको दूरीमा पर्ने करिब नौ सय घरका धनीले ठेक्काअनुसार विस्तार गर्ने भए मुआब्जा दिनुपर्ने माग गरेकाले घर भएको स्थानमा केन्द्रबिन्दुबाट दायाँबायाँ सात÷सात मिटर विस्तार गर्ने, सार्वजनिक जग्गा भएका स्थानमा भने ११÷११ मिटर नै विस्तार गर्ने सहमति भएको थियो ।रासस