हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै आएको हलेसी तुवाचुङले गत चैत ९ देखि १६ गतेसम्म कक्षा ४ देखि ९ सम्मको नगरस्तरीय वार्षिक परीक्षा सञ्चालन गरेको हो ।

कक्षा ४ र ५ सञ्चालन भइरहेका ४२ र कक्षा ६ देखि ८ सञ्चालन भइरहेका १५ आधारभूत तथा १२ माध्यमिक विद्यालयलाई वार्षिक परीक्षामा सहभागी गराइएको थियो । नगरपालिकाले सञ्चालन गरेको नगरस्तरीय बाह्य मूल्याङ्कनमा देखिएको विद्यार्थी उत्तीर्ण प्रतिशत भने निराशाजनक छ ।

जनता मावि सल्लेका कक्षा ४ मा अङ्ग्रेजी, नेपाली, गणित र सामाजिक विषयमा कुनै पनि विद्यार्थी उत्तीर्ण भएनन् । कक्षा ४ मा विज्ञानमा एक जनामात्र विद्यार्थी उत्तीर्ण हुन सफल भएको पाइएको छ । सोही माविको कक्षा ७, ८ र ९ मा गणितमा उत्तीर्ण दर शून्य देखिएको छ । कक्षा ६ मा गणितमा एक र सामाजिकमा दुई जना मात्र उत्तीर्ण भएका छन् । कक्षा ७ मा सामाजिकमा एक जना उत्तीर्ण भएका छन् ।

कुनै पनि विषयमा उत्तीर्ण हुनका लागि विद्यार्थीले आन्तरिक र बाह्य मूल्याङ्कनमा न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । यस्तै ज्योति मावि राजापानीको कक्षा ४ मा गणित, सामाजिक र विज्ञानमा एक जना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । कक्षा ५ मा पनि गणितमा नतिजा शून्य देखिएको छ । कक्षा ६ मा अङ्ग्रेजीमा दुई, नेपाली, गणित, सामाजिक र विज्ञानमा एक–एक जना उत्तीर्ण भएका छन् । कक्षा ७ मा गणितमा एक जनामात्रै उत्तीर्ण भएका छन् ।रासस