बझाङको बुङ्गल नगरपालिका–६ स्थित बड्डीज्यावनवासीले चार महिनादेखि खानेपानी समस्या भोग्दै आएका छन् । ‘सोलार लिफ्टिङ’ प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य ऊर्जामा समस्या आएपछि गत माघदेखि गाउँमा खानेपानी समस्या भएको हो । सौर्य ऊर्जा बिग्रिएर धारामा पानि आउन बन्द भएपछि स्थानीय आउँदाजाँदा एक घन्टा पैदल हिँडेर वेउर भन्ने ठाउँको पानी बोकेर पिउन बाध्य भएका छन् ।

घाम लागेकै दिनमात्र धारामा पानी आउने र धेरैजसो बिग्रिरहने समस्याले हैरान भएको स्थानीयवासीले जनाएका छन् । सोलार लिफ्टिङ प्रविधिबारे ज्ञान नहुँदा सामान्य बिग्रिए पनि आफूहरूले खानेपानीबाट बञ्चित हुनुपरेको स्थानीय हर्कबहादुर बोहराले बताउनुभयो ।

बड्डीज्यावनकी स्थानीय कलसी धामीले भन्नुभयो, “पाँच–छ परिवारका लागि एउटा धारा निर्माण गरिएको छ तर गाउँमा सबै धारा रित्ता छन्, पानी आउँदैन । पानीको निकै अभाव छ । गाउँका २५ घरधुरीले चार महिनादेखि खानेपानीको अभाव झेल्नुपरेको छ । सरसफाइको कुरै छाडौँ खानेपानी पनि बोकेर ल्याउनुपर्ने बाध्यता छ ।”
खानेपानीको अभाव भएदेखि विद्यालयमा विद्यार्थीको उपस्थिति पनि न्यून हुने गरेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “स्कुले केटाकेटी पानी ल्याउन जान्छन् । पानी बोक्दाबोक्दै स्कुलको घन्टी बज्छ । घण्टी लागेपछि विद्यार्थी स्कुल आउँदैनन् ।” बड्डीज्यावन सोलार लिफ्टिङ खानेपानी योजना विसं २०७७ मा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा सम्पन्न भएको थियो । तीन किलोवाट क्षमताको सौर्य ऊर्जाबाट एक हजार पाँच सय मिटर तलको खोलाबाट लिफ्टिङ गरी गाउँमा खानेपानी पु¥याइएको थियो ।रासस