दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङक्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका रोगको सङक्रमण बढेको जनाइएको छ ।

बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बढी मात्रामा रोग सङक्रमण देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँचपोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिनुभएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका करिब दुई सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमूना सङ्कलन गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पीस्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरेनरी अधिकृत भरत देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यसको थप अनुसन्धानका लागि काठमाडौँ नमूना पठाइएको बताउनुभयो ।

राप्ती गाउँपालिकाको वडा नं ५, ७, ८ र ९ का विभिन्न बस्तीमा सो रोगले पशु थलिएका छन् । यहाँ तीन सय ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं ५ को करङ्गेकोट, थकरीकोट, वडा नं ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोलालगायत स्थानमा पाँच पशु मरेका उहाँले जानकारी दिनुभयो ।रासस