तरकारी खेतीमा आबद्ध रहनुभएकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उहाँले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गर्नुभएको हो ।

तरकारी खेती गर्ने क्रममा रामपुर नगरपालिका र ‘हेफर प्रोजेक्ट नेपाल’को सहयोगमा उपहारस्वरुप बाख्रा पाएपछि देवकोटा खुसी हुनुहुन्छ । बिना लगानी उपहारका रुपमा पाएको बाख्राबाट व्यावसाय बढाउँदै जाने उहाँको सोच छ ।

“आफूले लगानी नगरिकन उपहारस्वरुप माउँ बाख्रा पाएकी छु, यसलाई घरमा राम्रोसँग पालनपोषण गरेर व्यावसायिकरुपमा अगाडि बढाउनेछु, तरकारी खेतीमा पनि बाख्रापालन गरेपछि मलको समस्या भएन”, देवकोटाले भन्नुभयो । उहाँको घरमा अहिले पाँच माउँ बाख्रा र एउटा खसी छ । देवकोटाले तालपोखरा स्वावलम्बन महिला समुहमार्फत बाख्रा उपहार पाउनुभएको छ । बाख्राबाट धेरै पाठापाठी उत्पादन गरेर आम्दानीको दीगो स्रोतका रुपमा व्यावसायिक तवरबाट काम गर्ने उहाँले बताउनुभयो ।

रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मलन समाज (बेस) नेपालको सहजीकरणमा कृषि तथा पशु उद्यमशीलता परियोजना सञ्चालनमा छ । परियोजनाअन्तर्गत नगरपालिकाभित्र गठन भएका २० स्वालम्वन महिला समूहमा २१ उन्नत जातको बोयर क्रस बीउ बोका वितरण गरिएको छ । हालसम्म परियोजनाबाट ४१ महिला स्वावलम्बन समुह, दश युवा समूह गठन, उपहार समूह ३१ रहेका छन् । यी समूहमा परियोजनाका गतिविधि सञ्चालन भइरहेका छन् । रासस