मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजात गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ । नरेठाँटी बजार छेउमै रहेको चुक्तीखोलामा वर्षा सुरु भएदेखि पानीको बहाव बढ्ने हुँदा यातायातका साधन वारपार गर्न सक्दैनन् । चार महिना यातायातका साधन ठप्प हुँदा स्थानीय मर्कामा पर्ने गरेका छन् ।
नरेठाँटीभन्दा केही माथि तोरीखोला घरबास छ । यातायात सञ्चालन नहुँदा घरबासमा पाहुनासमेत पुग्न सक्दैनन् । लामो समयदेखि बर्खामा समस्या भोग्दै आएका स्थानीय अहिलेको बर्खामा भने गाडी सञ्चालन हुन्छ भन्नेमा आशावादी छन् । चुक्तीखोलामा अहिले मोटरेबल पुल बन्न थालेपछि उनीहरुमा आशा पलाएको हो । दुई वर्ष अगाडि चुक्तीखोलामा पुल बनाउने सम्झौता भए पनि निर्माण कम्पनीले काम गरेको थिएन । केही समय यता पुल निर्माणले गति लिएको छ । पुल निर्माण हुन थालेपछि स्थानीयसमेत हर्षित छन् । अहिले पुलको ढलानको काम हुन थालेको छ ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरेको बजेटले यहाँ पुल निर्माण हुन थालेको हो । विसं २०७८ वैशाखमा पुल निर्माणका लागि सम्झौता भएको थियो । विसं २०८९ वैशाखमा पुल निर्माण सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म सम्पन्न भएको छैन । निर्माण कम्पनीले समयमै पुल सम्पन्न नगरेपछि विसं २०८९ पुससम्म म्याद थप गरिएको थियो । पुसमा पनि पुल बनेन । निर्माण कम्पनीले असार मसान्तसम्म सक्नेगरी धमाधम काम गरिरहेको गलकोट नगरपालिकाका सबइञ्जिनियर चन्द्र पुनले जानकारी दिनुभयो ।रासस
