हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न खोलामा २०७४ सालमा निर्माण सम्झौता भएका चार पक्की पुल हालसम्म अधुरै छन् ।

ठेकेदारको लापरवाहीले पक्की पुल समयमै निर्माण हुन नसकेका हुन् । पाँच वर्ष बितिसक्दा पनि हेप्का, तागु, सल्ली र याङगार खोलाका पुल अधुरै छन् । यी स्थानमा पुरानै काठको पुल निर्माण गरेर जोखिम मोल्दै सवारीसाधन चल्दै आएका छन् । पुल नबन्दा नाम्खालगायत छिमेकी गाउँपालिकाका बासिन्दाले वर्षायाममा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।

ठेकेदारको चरम लापरवाहीले निर्माण सम्झौताको म्याद सकिँदासम्म काम पूरा हुन नसकेको भन्दै स्थानीयले विरोध गरेका छन् । चार पुल दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । निर्माणमा संलग्न ठेकेदारले बेला–बेलामा म्याद थप गर्दै रकम भुक्तानी भने लिने गरेका छन् ।

ठेकेदारले विभिन्न बाहना बनाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएका छन् । नाम्खा–१ स्थित हेप्काखोलामा पक्की पुल रु १० करोडको लागतमा निर्माण हुन लागेको छ वर्ष पुगेको छ भने उक्त पुल बनाउने जिम्मा एमएस जेबी धुलिखेल, काठमाडौँले पाएको थियो । विसं २०७४ साउनमा दुई वर्षभित्रै सक्ने सम्झौता भएको हेप्काखोला पुल छ वर्षसम्म अधेरै छ ।

यस्तै ताग्रु खोला पुलको पनि काम हुन सकेको छैन । नाम्खा–४ मा पर्ने सल्लीखोलाको पुल निर्माणको जिम्मा स्वच्छन्द काग्री जेबीले रु नौ करोड ३३ लाखमा लिएको थियो । उत्तः पुल पनि अधुरै छ । सोही वडामा पर्ने याङगार खोलामा पुल निर्माणको ठेक्का पाएको धुलिखेल निशान जेबीले रु चार करोड १६ लाखमा लिएको जिम्मा लिएको भए पनि काम अधुरै छ । रासस