वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लक्षित गरेर सञ्चालन गरिएको ‘टेलिमेडिसिन’ सेवा प्रभावकारी देखिएको छ । सरकारले गत चैत १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि विशेषज्ञ सुविधासहितको टेलिमेडिसिन सेवा सञ्चालन गरेको थियो ।

त्यसयता विदेशमा रहेका एक सय ५६ श्रमिकले स्वास्थ्य सेवा लिएका वैदेशिक रोजगार बोर्डका निर्देशक राजन पौडेलले जानकारी दिनुभयो । मध्यपूर्व र मलेसियामा काम गर्दै आएका श्रमिकले टेलिमेडिसिनमार्फत सेवा लिएका छन् । चार जनालाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

वैदेशिक क्षेत्रमा रहेका श्रमिकका लागि सञ्चालनमा ल्याइएको टेलिमेडिसिन सेवाको प्रभावकारिता विस्तारै बढ्दै गएको पौडेलको भनाइ छ । बोर्डले वीर अस्पतालसँग समन्वय गरेर सो सेवा सञ्चालन गर्दै आएको छ । साताको दुई दिन विशेषज्ञ सेवा र सार्वजनिक बिदाका दिनबाहेक सामान्य चिकित्सकीय सेवा प्रदान हुँदै आएको छ ।

हरेक आइतबार र शुक्रबार विशेषज्ञ चिकित्सकले श्रमिकलाई स्वास्थ्य सेवा दिनेछन् भने अन्य दिन एमबिबिएस गरेका चिकित्सकले सेवा दिँदै आएका बोर्डले जनाएको छ । एमबिबिएस चिकित्सकले श्रमिकका लागि विशेषज्ञ सेवा आवश्यक परे विशेषज्ञ चिकित्सकसमक्ष सिफारिस गर्ने गरेका छन् । आइतबार र शुक्रबार श्रम गन्तव्य मुलुकमा सार्वजनिक बिदा पर्ने भएकाले सो दिन विशेषज्ञ सेवा उपलब्ध गराइएको बोर्डले जनाएको छ ।रासस