महाकाली करिडोरअन्तर्गत कञ्चनपुर खण्डमा सडकको ट्रयाक खोल्न थालिएको छ । सो क्षेत्रमा पर्ने रुख कटानको आदेश आएपछि कटानसँगै ट्रयाक खोल्ने काम सुरु भएको हो ।
सव–डिभिजन वन कार्यालय ब्रम्हदेवले सडक क्षेत्रमा पर्ने रुखमा टाँचा लगाउने काम गरिरहेको महाकाली करिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो । “कञ्चनपुर खण्डमा पर्ने रुख कटानको आदेश आएको छ, अहिले वनले रुखमा टाँचा लगाउने काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “लामो समयपछि ट्रयाक खोल्ने काम सुरु भएको छ ।”
दुई वर्षअघि दिवा सनीदेव जेभीले ब्रह्मदेवदेखि कञ्चनपुर खण्डमा पर्ने ११ किलोमिटर र डडेल्धुरा खण्डको चार किलोमिटर गरेर १५ किलोमिटरको ठेक्का पाएको थियो । कञ्चनपुर खण्डमा ठेक्का सम्झौता भएको दुई वर्षपछि ट्रयाक खोल्न थालिएको हो । डडेल्धुरा खण्डको चार किलोमिटर सडकको ट्रयाक खोलिएको निर्माण कम्पनीका सञ्चालक देवीदत्त भट्टले जानकारी दिनुभयो ।
“कञ्चनपुर खण्डमा वनले रुखमा टाँचा लगाउँदैछ, सँगै हामी ट्रयाक खोल्दैछौँ”, उहाँले भन्नुभयो, “रुख काटेर घाट गद्दीमा राख्दैछौँ ।” करिडोरको जिरो प्वाइन्ट ब्रम्हदेव बजारदेखि कञ्चनपुर सीमासम्मको ११ किलोमिटर क्षेत्रमा पर्ने रुख कटान हुन नसक्दा काम अघि बढ्न सकेको थिएन । केही महिनाअघि मन्त्रिपरिषद्ले रूख कटान गर्न दिने निर्णय गरेको थियो । वन विकास कोषमा रकम जम्मा गर्न ढिलाइ गरिँदा अन्यौल सिर्जना भएको थियो ।रासस