सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक निर्माणकार्यमा राजनीति नगर्न सुझाव दिनुभएको छ । नारायणपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा नारायणपुरमा सुरु भएको कृषि, पर्यटन तथा व्यापारिक महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनदबाब हुँदा त्यसले माथि दबाब दिन पनि सहज हुन्छ, तर चार लेनमा राजनीति गरेर अस्वाभाविक विरोध गर्दा त्यसले फाइदा दिँदैन ।”

चार लेन सडक नबन्दा कष्टकर रहेको भन्दै निर्वाचन जितेदेखि नै पहिलो प्राथमिकतामा राखेर चार लेनकै प्रक्रिया अगाडि बढाइरहेकोसमेत उहाँको भनाइ छ । अब आउने बजेट भाषणभन्दा अघि नै चार लेनको ठेक्का तोड्ने गरी तयारी गरेकोसमेत उहाँको भनाइ छ । “ठेक्का नतोड्दासम्म त्यसमा ठेकेदारकै अधिकार हुने र सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो, “त्यसैले पहिले ठेक्का तोड्छौँ, त्यसपछि अहिले दुई लेनकै मर्मत कार्य गर्छौँ ।”

भारतीय एक्जिम बैंकको लगानीमा भारतीय तथ्य कम्पनीले काम गरिरहेको भए पनि यो ठेकेदार कम्पनीको ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया अगाडि बढाएर काम अगाडि बढाउने गरी तयारी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसपछि नयाँ ठेकेदारमार्फत चार लेनको काम अघि बढ्नेसमेत उहाँको भनाइ थियो ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्रीसहित भारतीय राजदूतावास र सोही प्रोजेक्ट हेर्ने सचिवसँग पनि छलफल भइसकेको छ । एक्जिम बैंकले लगानी गरेका दाङमात्रै नभई नेपालकै दर्जन बढी स्थानको हालत यस्तै रहेको मन्त्री शर्माले बताउनुभयो ।रासस