हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला गरिएको हो ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर बिक्री खुला गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका सबै ११ वडा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै सातवटै वडाका स्थानीय बासिन्दाले शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थ्रीस्टार हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले शेयर सदस्यका लागि अनलाइनमाध्यममार्फत आवेदन दिनसक्ने जनाइएको छ । प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले अधिकतम चार लाख ९२ हजार पाँच सय र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७३ हजार आठ सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयरका लागि वैशाख २५ गतेसम्म र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

स्थानीय बासिन्दाले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास, प्रभु र थ्रीस्टार हाइड्रो पावरको कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । उत्पादन सुरु भएको दुई वर्षपछि साप्सुखोला जलविद्युत् आयोजनाले शेयर बिक्री खुलाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । रासस