संसद्मा भूकम्प स्मृति दिवस, आगलागी, किसानको अनशन, नेपालको हवाई सुरक्षा, आर्थिक सङ्कट र भ्रष्टाचारलगायतका विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले तटबन्ध, नदीकटान, सिँचाइ, मलसँग जोडिएका विषयबस्तुबारे सदनमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।
नेकपा (एमाले)का सूर्यप्रसाद ढकालले यही वैशाख ८ गते बाँकेको नरेनापुरमा आगालागीबाट धेरै घर जलेर नष्ट हुनाका साथै रु २५ लाखभन्दा बढीको सम्पत्ति क्षति भएकाले पीडितलाई राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङले नुवाकोट ककनी गाउँपालिका–२ का श्रीराम घिमिरे कृषि र कृषकसम्बन्धी पाँचबुँदे माग राखेर एक सातादेखि काठमाडौँको भूगोल पार्कमा अनशन बस्नुभएकाले उहाँको माग सम्बोधन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका तेजुलाल चौधरीले सप्तरीको निर्वाचन क्षेत्र नं ४ मा केही दिनअघि भएको आगलागीबाट १४ घर पूर्णरुपमा क्षति भएको, पशुचौपायको पनि मृत्यु भई ठूलो सम्पत्तिको क्षति भएकाले पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन कञ्जुस्याइँ नगरियोस् भन्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले भारतले विगतमा भएको हवाई दुर्घटनापछि आफ्नो आकाश सुरक्षालाई जोड दिएको परिप्रेक्ष्यमा हिजोको हवाई उडानसम्वन्धी घटनाले नेपालले आफ्नो हवाई आकाश कति सुरक्षित छ भनी अध्ययन र विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो ।रासस