संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनले म्यान्मामा तत्काल हिंसा अन्त्य गर्नुभएको छ । म्यान्माका उच्च सैनिक अधिकारीहरूसँगको आकष्मिक भेटमा उहाँले हिंसा अन्त्यका निम्ति आह्वान गर्नुभएको हो ।

पूर्वमहासचिव वानले सोमबार म्यान्माको राजधानी नेपिटोमा सैन्य सरकारका नेता, वरिष्ठ जनरल मिन आङ ह्लिङ र अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर हिंसा रोक्न अनुरोध गर्नुभयो । विश्वभर शान्ति स्थापना तथा मानवअधिकार रक्षाको प्रयासमा जुटेको वरिष्ठ व्यक्तिहरू संलग्न समूहका तर्फबाट उहाँले सैन्य अधिकारीहरूलाई उक्त अनुरोध गर्नुभएको समूहले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पूर्वमहासचिव वान उक्त समूहका उपाध्यक्ष हुनुहुन्छ ।

म्यान्माको वर्तमान वस्तुस्थिति बुझ्न पूर्वमहासचिव वान म्यान्मा पुग्नुभएको थियो । सोमबार राति नेपिटोबाट ब्याङ्कक उड्नुभएका उहाँले सैन्य त्यहाँ रहँदा उहाँले सैन्य अधिकारीहरूसँग सेना र प्रजातन्त्र पक्षधरहरूबीचको हिंसा रोक्नुपर्नेमा जोड दिनुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) र संयुक्त राष्ट्रसङ्घले म्यान्मामा शान्ति योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सन् २०२१ मा प्रजातन्त्रवादी नेत्री आङ सान सुची नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरेपछि सैनिक सरकारविरुद्ध भएका आन्दोलनले हिंसात्मक रुप लिएका छन् । सैन्य सरकारले आन्दोलन दबाउन हवाई हमलालगायत घातक कारबाही गर्दै आएको छ । रासस