गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डको उपाधि कास्कीले जितेको छ । प्रतियोगितामा सहभागी १० जिल्ला मध्येमा कास्की च्याम्पियन बन्यो ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’को नारासहित प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा कास्कीले १४ स्वर्ण, १३ रजत र पाँच कास्य गरी कूल ३२ पदक जितेर च्याम्पियन बनेको हो ।
गत वर्षको विजेता बागलुङले १० स्वर्ण, पाँच रजत र १० कास्य पदक गरी कूल २५ पदकका साथ द्वितीय भयो । नवलपुर जिल्लाले सात स्वर्ण, तीन रजत र आठ कास्य गरी कूल १८ पदक जित्दै तृतीय स्थान हासिल गरेको हो ।
पोखरा रङ्गशालामा आज सम्पन्न भलिबल फाइनलमा नवलपुर विजयी भएको छ । नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको हो भने पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तृतीय भयो । छात्रा भलिबलमा कास्कीले उपाधि जित्यो । कास्कीले स्याङ्जालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तृतीय भएको छ ।
एथलेटिक्सतर्फ कास्कीले छ स्वर्ण आठ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर पाँच स्वर्ण, एक रजत र पाँच कास्य पदक जितेर द्वितीय तथा स्याङ्जाले चार स्वर्ण र एक कास्यका साथ तृतीय भए ।रासस