कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगले आज यहाँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।
प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका सदस्य शरण राईले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै संविधानको मर्मअनुसार मुलुकको विकास र समृद्धिका निमित्त हामी सबै समावेशिताका साथ आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको राष्ट्रिय एकता बलियो बनाउन सबैले आफ्नो क्षेत्रबाट काम गर्नुपर्नेमा जोड दिँदै आयोगले यस कार्यमा थप सशक्त बनाउन केन्द्रित रहेको प्रतिवेदनबाट स्पष्ट भएको विचार राख्नुभयो ।
प्रदेश प्रमुख खापुङले भन्नुभयो, “नेपाल बहुजातजाति, बहुधार्मिक, बहुसंस्कृति र भौगोलिक विविधता भएको मुलुक हो, संविधानले समानुपातिक, समावेशितालाई जोड दिएको छ ।”
आयोगका सदस्य राईले प्रतिवेदन पेस गर्दै आदिवासी जनजातिको भाषा, संस्कृति, र परम्परागत पेसालाई संरक्षण सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेट उल्लेख गर्न आग्रह गर्नुभयो ।रासस