आगामी वैशाख २२ गते पर्ने बुद्धजयन्ती भव्य रुपमा मनाउन दक्षिणकाली नगरपालिकाले मूल समारोह समिति गठन गरेको छ । नगरपालिकाले आज आयोजना गरेको बैठकले यसपटक विशेष रुपले बुद्धजयन्ती मनाउन मूल समारोह समिति गठन गरेको हो ।

नगरपालिका प्रमुख मोहन बस्नेतका अनुसार समितिमा वर्तमान तथा पूर्वजनप्रतिनिधि, कर्मचारी विभिन्न धार्मिक सङ्घ संस्थाका प्रतिनिधि र स्थानीय अगुवा सदस्यको रुपमा रहने छन् ।

दक्षिणकाली नगरपालिका क्षेत्रमा ५० भन्दा बढी गुम्बा रहेको र बौद्धमार्गीको सङ्ख्या पनि उल्लेख्य रहेकाले विसं २०५४ मा आफू गाविस अध्यक्ष हुँदादेखि नै बुद्धजयन्ती विशेष रुपमा मनाउन थालेको जानकारी नगरप्रमुख बस्नेतले राससलाई दिनुभयो । सो अवसरमा सामूहिक बुद्ध पूजाका साथै बुद्धको जीवनी र त्यसबाट अहिलेको मानव समुदायले लिनसक्ने शिक्षाका बारेमा प्रवचन कार्यक्रम गरिने पनि उहाँले बताउनुभयो ।रासस