विगत दुई वर्षदेखि मिर्गौलाको उपचार गराइरहनुभएका मेचीनगर-१५ का ४२ वर्षे मोतिलाल यादवलाई सरकारले यो रोगको उपचार निःशुल्क गर्छ भन्ने थाहा छ । तर आफूलाई यो विषयबारे जानकारी हुँदा पनि सुविधा उपभोग गर्न भने सक्नुभएको छैन ।

सरकारले मिर्गौला पीडित बिरामीको उपचार निःशुल्क गर्ने प्रबन्ध गरेको छ । तर यो सुविधा लिनका लागि मेची नदी पारीको ग्वालाबस्तीबाट बिर्तामोड र भद्रपुर आउनका लागि नदीमा पुल छैन । जसकारण यादव भारतका विभिन्न अस्पतालमा पुगी महङ्गो शुल्क तिरेर उपचार गर्न बाध्य हुनुहुन्छ ।

“सरकारले मिर्गाैला रोगीको उपचार निःशुल्क गर्छ भन्ने सुनेको छु”, उहाँले भन्नुभयो, “तर नदीमा पुल नहुँदा नजिक पर्ने बिर्तामोड र भद्रपुरका अस्पतालमा गएर सेवा लिन पाएको छैन, भारत जानुपर्ने बाध्यता छ ।”

यादवको बुबा ८२ वर्षे राजेन्द्र यादवले आफूसँग भएको सम्पत्ति र स्थानीयको सहयोगमा भारतको सिलगुढीलगायतका अस्पतालमा उपचार गर्दा ठूलो रकम खर्च भएको भन्दै सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिन नपाएको बताउनुभयो । मिर्गौला पीडित यादवको दुई महिनादेखि दाहिने खुट्टा र हात प्यारालाइसिस हुँदा बोल्न समेत नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

“भद्रपुर र बिर्तामोड जान बाटोघाटो छैन, एम्बुलेन्स आउँदैन, कसरी लैजानु ?”, उहाँले भन्नुभयो, “हालसम्म भारतमा लगेर उपचार गर्दा चार लाख सकियो तर सुधार भएको छैन ।”

नदी तर्न पुल नहुँदा दशगजा सीमा क्षेत्र नजिकै बसोबास गर्दै आएका ग्वालाबस्तीका स्थानीलाई नेपालतिर आउनभन्दा भारत जान सजिलो भएको छ ।

ग्वालबस्ती टोल विकास समितिका अध्यक्ष राजकुमार रायाले नेपालका तीनै तहका सरकारले यस क्षेत्रलाई बेवास्ता गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनवाका बेला सबै नेता आउँछन् र पुल बनाउने कुरा गर्छन्, जितेर गएपछि कोही फर्कदैनन् ।”

उहाँले यस क्षेत्रका बासिन्दा बिरामी हुँदा नेपालका अस्पतालमा बाटो र खोलामा पुल नहुँदा लैजान नसक्ने बताउनुभयो । सरकारले स्वास्थ्य बीमालगायतका सुविधा दिए पनि यहाँका करिब २५ घर परिवार सो सुविधा लिनबाट वञ्चित छन् । अध्यक्ष रायाले यहाँका बासिन्दा बिरामी हुँदा भारतीय अस्पालकै भरपर्नुपर्ने अवस्था आएको बताउनुभयो ।रासस