पृथ्वी दिवसका अवसरमा आज ललितपुरमा साइकल रयाली सम्पन्न भएको छ । नेपाल युएस एलमुनाइ नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा ललितपुरको पाटन दरबार क्षेत्रदेखि लुभुको महालक्ष्मी मन्दिरसम्म साइकल ¥याली गरिएको हो ।

साइकल ¥यालीको शुभारम्भमा धारणा राख्दै नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले यो महत्वपूर्ण कार्यक्रममार्फत नेपाली समुदायसँग सहकार्य गर्न पाएकामा निकै खुसी लागेको बताउनुभयो ।

“नेपाल प्राकृतिक हिसाबले राम्रो देश हो, यो साइकल यात्रा कार्यक्रम गरेको राम्रो हो, वातावरण संरक्षणका लागि विश्वका सबै देशले यस्ता कार्यलाई प्राथमिकता दिनुपर्छ, सबै देशका नागरिक, देश र विश्वकै वातावरणका लागि महत्वपूर्ण छ”, राजदूत थम्पसनले भन्नुभयो । उहाँले महालक्ष्मी नगरपालिका–८ को स्वास्थ्यचौकी परिसरमा वृक्षरोपणसमेत गर्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले साइकल ¥यालीले ‘स्मार्ट सिटी’ बनाउने महानगरको अभियानलाई सहयोग पुग्ने बताउनुभयो । “ललितपुर महानगरलाई स्मार्ट सिटी बनाउने अभियानअन्तर्गत नेपालमा पहिलोपटक हामीले साइकल लेन बनाएका छौँ, अहिलेसम्म हामीले ३२ दशमलव पाँच किमी साइकल लेन बनाइसकेका छौँ, साइकल ¥याली हुनु खुसीको कुरा हो”, प्रमुख महर्जनले भन्नुभयो, “साइकल चढ्नु स्वास्थ्यका लागि पनि राम्रो छ, यस्ता कार्यक्रमले हाम्रो कामलाई पनि सहयोग मिलेको छ ।” उहाँले साइकलको प्रयोगबाट पेट्रोलियम पदार्थलाई विस्थापित गर्न र आर्थिक बचतका लागि सहयोग पुग्ने बताउनुभयो। रासस