नीलकण्ठ नगरपालिका–८ को च्याढुघुम्तीस्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले आसपासका झन्डै एक दर्जन बस्ती प्रदूषित बनेका छन् ।

सदरमुकाम धादिङबेँसीबाट निस्किएको फोहोर फाल्ने डम्पिङ साइटमा आगो सल्किएपछि निस्किएको धुवाँको मुस्लोले एक सातादेखि मानव बस्ती नै धुवाँले ढाकिएको छ । एक साताअघि वन क्षेत्रमा लागेको डढेलो डम्पिङ साइटको अव्यवस्थित ढङ्गले फालिएको फोहोरको थुप्रोमा सल्किएको हो । विशेषगरी नीलकण्ठ–८ को ससाह, ज्यामिरेमा प्रदूषण फैलिएको छ ।

नीलकण्ठ¬–७ सुनौलाबजारको मस्र्याङछाप, डमडाँडा, सिद्धलेकको नलाङस्थित कालीदह, नयाँबस्तीमा पनि धुवाँको मुस्लोसहित प्रदूषण फैलिएको छ । दुर्गन्धसहित मानव बस्तीमा फैलिएको पिरो धुवाँले स्थानीय बिरामी पर्न थालेका छन् । आँखा पोल्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, बान्ता हुने जस्ता समस्या देखिएको ससाह ज्यामिरेका स्थानीय अर्जुन श्रेष्ठले बताउनुभयो ।

डम्पिङ साइटसँगै जोडिएको धादिङबेँसी मलेखु सडकमा सहजै हिँड्न सक्ने अवस्था छैन । प्रदूषणले गर्दा चालक र यात्रुलाई नाकमुख बन्द गरेर डम्पिङ साइट क्षेत्र पार गर्नुपर्ने बाध्यता छ ।

तीन दिनअघि नगरपालिकाले दमकलको प्रयोग गरेर आगो निभाएको भने पनि फोहोरको डङ्गुरको भित्रसम्म पुगेको आगो अहिले झन् बढेकोे छ । नगरपालिकाले डम्पिङ साइट व्यवस्थित गर्न नसक्दा दिनानुदिन समस्या बढ्दै गएको प्रभावित क्षेत्रका स्थानीयले बताएका छन् । रासस