सुक्खायामसँगै यहाँका वनहरुमा डढेलोको जोखिम बढ्दै गएको छ । दिनहुँजसो वनमा आगलागी भइरहेका छन् । जानीजानी वा दुर्घटनावश बुधबारसम्म स्याङ्जाका ६२ वनमा डढेलो लागेको तथ्याङ्क डिभिजन वन कार्यालयसँग छ ।

अहिले सबैभन्दा धेरै आगलागी वालिङ नगरपालिकाभित्रका वनमा लागेको छ । वालिङका २०, पुतलीबजारका १०, भिरकोटका आठ, आँधीखोला÷फेदीखोला सब डिभिजनअन्तर्गत आठ, चापाकोटका छ, अर्जुनचौपारिका पाँच, बिरुवा÷हरिनासका पाँच, गल्याङ÷कालीगण्डकी सब डिभिजनअन्तर्गतका दुई वनमा डढेलो लागिसकेको बन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिनुभयो । एघार वटा पालिकालाई समेटेर आठवटा सब डिभिजनमार्फत वनको कार्य विभाजन गरिएको छ । पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिकामा एक÷एक सब डिभिजन रहेका छन् । आँधीखोला र फेदीखोला, बिरुवा र हरिनास, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा संयुक्त गरी एक÷एकवटा सब डिभिजन रहेका छन् ।

उहाँका अनुसार सबैभन्दा धेरै पुतलीबजार नगरपालिकाअन्तर्गतका वन क्षेत्र जोखिममा रहेका छन् । कार्यालयले सब डिभिजनअन्तर्गत वन क्षेत्रहरुको जोखिम मूल्याङ्कन गरी सोहीअनुसार सम्भावित घटना हुन नदिन सचेतना अपनाउँदै आएको छ । पुतलीबजारका कूल २६ वन डढेलोको जोखिममा छन् । वालिङका २५, चापाकोटका २२, भिरकोटका १५, बिरुवा÷हरिनासका १२, अर्जुनचौपारिका १०, गल्याङ÷कालीगण्डकीका १०, आँधीखोला÷फेदीखोलाका आठ गरी कूल एक सय २८ वन जोखिममा परेका छन् । तीमध्ये झन्डै आधा वनमा डढेलो लागिसकेको छ । बैसठ्ठी वटा वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर वनमा क्षति पुगेको डिभिजन वन अधिकृत गल्छौडीँले बताउनुभयो ।रासस