ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले जनवरीमा पदभार ग्रहण गरेपछि पहिलो पटक युरोप भ्रमणका लागि शुक्रबार पोर्चुगल आइपुग्नुभएको छ ।
ब्राजिलका राष्ट्रपतिको कार्यालयले भनेको छ, “यो भ्रमण ब्राजिलका मुख्य साझेदारहरूसँगको कूटनीतिक सम्बन्धको पुनः सुरुवातको एक हिस्सा हो ।”
लुलाको चीन, संयुक्त राज्य अमेरिका र बाजिलको छिमेकी अर्जेन्टिना र उरुग्वेको भ्रमणपछि यो निर्णय भएको कार्यालयले जनाएको छ ।
दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चार वर्षको सापेक्षिक अलगावपछि अन्तर्राष्ट्रिय मञ्चमा ‘ब्राजिल फर्किएको छ’ भन्ने प्रतिवद्धता गर्दै वरिष्ठ वामपन्थी नेताले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
सम्झौताकर्ताको रूपमा ब्राजिलको भूमिकालाई पुनर्जीवित गर्ने प्रयास गर्दै उहाँले सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने कसम खानुभएको छ । एकातिर संयुक्त राज्य अमेरिका र युरोप वा अर्कोतर्फ चीन र रूसको पक्ष लिने कुराको उहाँले विरोध गर्नुभएको छ ।
तर सन् २००३ देखि २०१० सम्म ब्राजिलको नेतृत्व गरेका ७७ वर्षीय नेताले युक्रेन द्वन्द्वलाई लिएर युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाको आलोचना गरेपछि केही कूटनीतिक असहजताको सामना गर्नुपर्ने हुन सक्छ ।
लुला शुक्रबार बिहान लिस्बन आइपुग पनि उहाँको औपचारिक कार्यक्रम शनिबार मात्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो र पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टासँग भेटघाटबाट सुरु हुनेछ ।
रासस
