यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो । उहाँका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उहाँहरुलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने ब्यवस्था मिलाइएको छ ।

उहाँका अनुसार शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र भोलि बेलुकासम्म सबै मतदान केन्द्रमा पु¥याइसकिने छ । निर्वाचन आचारसंहिता पालना गराउन सुरु देखि नै कडाइ गरिए पनि छिटफुटरुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानविन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ ।

यस्तै बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ । रासस