अन्नपूर्ण हिमालको आधार शिविर पुगेर बुधबार नारच्याङमा फर्किनुभएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाअध्यक्ष लोकबहादुर फगामी आफ्नै वडाको जङ्गलमा विश्वकै दुर्लभ ‘लोन्डेसी’ प्रजातिको गुराँस देखेर दङ्ग पर्नुभयो ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ‘भुस्केट मेला’ जङ्गलमा दुर्लभ जातको ‘लोन्डेसी’ प्रजातिको गुराँस पहिलो पटक देख्दा यसको संरक्षण कसरी गर्ने होला भन्ने कुरा मनमा खेलिरहेको उहाँले बताउनुभयो ।
पाँच वर्षअघि २०७५ सालमा नीलगिरि–अन्नपूर्ण बेस क्याम्प जाने बाटोको जगरघारी, खानी वन र हुमकलाको जङ्गलभन्दा माथिल्लो क्षेत्रमा विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘लोन्डेसी’ प्रजातिको गुराँस भेटिएको भन्ने कुरा सुन्नुभएका फगामीले अहिले प्रत्यक्ष देखेपछि यसको संरक्षणका लागि गाउँपालिकासँग समन्वय गरेर योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बिहीबार साँझ रासस प्रतिनिधिसँगको कुराकानीमा उहाँले भन्नुभयो, “पाँच वर्षअघि नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनाको वातावरण एकाइले अनुसन्धान गर्दा वातावरणविद् कुलप्रसाद लिम्बू र कमल मादेनले नारच्याङको जङ्गलमा भेटिएको नयाँ प्रजातिको गुराँस ‘लोन्डेसी’ नै भएको पुष्टि गरेका थिए तर त्यतिबेला हामीहरुले पत्याएनौँ र संरक्षणको कुनै प्रयास पनि भएन, अब आगामी आइतबार वा सोमबार विशेष बैठक बोलाएर यसको संरक्षणका लागि आवश्यक योजना बनाउँछौँ ।”रासस