यही वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन व्यवस्थापन चुस्त बनाउन निर्वाचन आयोगले सरोकारवाला निकायलाई निर्देशन दिएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले निर्देशन दिएको हो ।

उपनिर्वाचन हुने जिल्लाका अस्पताल, नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्वाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ । त्यस्तै, सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र निर्वाचनका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।

उपनिर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई कसैले कुनै किसिमको डर, धम्की, प्रलोभन दिएमा वा उनीहरूको काममा बाधा पु¥याएमा उक्त कार्यलाई निर्वाचन कसुर मानी तत्काल कारबाही गर्न आयोगको निर्देशन छ । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले आफ्नो कर्तव्यभन्दा बाहिर गई निर्वाचनलाई प्रभावित हुने कुनै क्रियाकलाप गरेको भेटिएमा कारबाही गरिने पनि आयोगले जनाएको छ ।

मतदान हुने दिन मतगणना कार्यमा संलग्न सबै व्यक्तिले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी मापदण्ड अवलम्बन गर्ने गराउने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।रासस