ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ ।
लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताउनुभयो ।
नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्न खोजीरहेको उहाँको भनाइ छ । उहाँले ब्रिटिस कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो एक दशकभित्र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउँदै कानुनी तथा भौतिक पूर्वाधार विकासका लागि नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्न तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउन नेपाल सरकारले विसं २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क नीति पारित गरी कार्यान्वयन पनि गरिरहेको स्पष्ट पार्नुभयो । रासस