वैशाख २५ बाट सुरु हुन लागेको जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागि मेलम्ची बगरमा खेलमैदान तयार गर्न आयोजक व्यस्त छन । राम श्रेष्ठको प्रायोजनमा यही वैशाख २५ गतेबाट सुरु हुने प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
मेलम्ची युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, एक लाख र ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । व्यक्तिगत लगानीमा ठुलो धनराशिको पुरस्कारसहित खेलाडीलाई खाना र बासको समेत व्यवस्थासहित हुन लागेको यो प्रतियोगिताका लागि मैदान भने अभाव छ । मेलम्चीमा रु १४ करोडको लागतमा निमार्णाधीन रङ्गशाला २०७८ को बाढीले बगाएको थियो । हेलम्बुका पनि खोला आसपास सबै बगर भएपछि खेल मैदानको अभाव छ ।
मेलम्ची र इन्द्रावतीमा आएको बाढीपछि जिल्लाको पश्चिमी भेगमा खेल गतिविधि बढे पनि राम्रो खेल मैदान अभावले खेल सञ्चालन गर्न असहज भएको स्थानीय सागर श्रेष्ठ बताउनुहुन्छ । अभ्यासका लागि खेल मैदान नभए पनि सिन्धुपाल्चोकका खेलाडी तयार हुने क्रम भने उत्साहजनक छ । सिन्धुपाल्चोकले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्ने खेलाडी जन्माएको छ । यी खेलाडीले जिल्ला र देशकै नाम उँचो बनाएका छन् । खेल जितेर फर्किंदा वाहवाही पाए पनि यी खेलाडीको सङ्घर्ष भने सहज छैन ।
रासस
