प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।
आज बाराको गढीमाईमा सत्ता गठबन्धन दलद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो विमानस्थलको कामले अब छिट्टै गति लिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ । म तपाईहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ ।”
उहाँले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताउनुभयो । विद्युतीय सिँचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिन प्रधानमन्त्रीको भनाइ छ ।रासस