नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले शिलान्यास भयो । आज शिलान्यासको चार वर्ष पूरा भएको छ । तर शिलान्यासको चारवर्षमा जिल्लाको नमूना सदरमुकाम बनाउने परियोजनाको नक्साङ्कनमा बितेको छ ।

नमूना सदरमुकाम निर्माण स्थलमा बनाउने भनिएका सरकारी कार्यालयका भवनको हालसम्म काम सुरु भएको छैन । नमूना सदरमुकाम स्थल खुला चौरकै रुपमा छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माणको काम हेरिरहेको छ ।

कार्यालयले यसअघि करिब रु १० करोडको लागतमा कच्ची बाटो निर्माणको काम गरेको छ । त्यसबाहेक गुरुयोजना परिमार्जन गरी अन्तिम रूप दिनलाई समय बितेको छ । गएको फागुनमा गुरुयोजनालाई अन्तिमरूप दिने भन्दै कार्यालयको रोहबरमा सरोरकारवालाबीचको पाँचौँ बैठक बसेको थियो । गुरुयोजना परिमार्जनकै विषयमा अलमल गर्दै समय बितेको भनेर यहाँका राजनीतिक दलका प्रतिनिधिले गुनासो व्यक्त गरेका छन् ।

“नमूना सदरमुकाम जिल्लावासीको सपना हो, यो गौरवपूर्ण आयोजना जतिसक्दो चाँडो बन्नुपर्छ भन्नेमै सबै जनताको माग छ”, पूर्व सांसद तिलक महतले भन्नुभयो । देशकै ७७ वटा जिल्ला मध्ये नयाँ जिल्लाका रुपमा विकास हुँदै गरेको नवलपुरको सदरमुकाम सबैले हेर्न लायक बनाउनुपर्ने उहाँले बताउनुभयो । अहिले विभिन्न सरकारी कार्यालय साँघुरा भाडाका घरबाट सञ्चालन हुँदा सेवाग्राहीमैत्री नभएकाले जतिसक्दो चाँडो निर्माण स्थलमा आवश्यक कार्यालय स्थापना गरी सेवाग्राही मैत्री तवरले सहजरुपमा सेवा दिने वातावरण बनाउनुपर्ने महतले बताउनुभयो । रासस