एक दशक अगाडिसम्म निसीखोलाका ग्रामीण क्षेत्रमा सडक पुगेका थिएनन् ।
स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् । पहिलो कार्यकालमा ट्रयाक खोलिएका सडक अहिले स्तरीय बनाउन थालिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई वटा महत्वपूर्ण सडक स्तरोन्नति गर्दै छ । यस वर्ष हर्पे–पाखापानी–ढुवाखोर सडक र बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक स्तरोन्नति गर्दैछ ।
बायखोला–झिम्पा हुँदै निसी जोड्ने सडक राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक हो भने हर्पे–पाखापानी–ढुवाखोर सडक पालिकाको गौरवका योजना हो । दुवै सडकलाई गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । विसं २०७५ मा गाउँपालिका र केन्द्र सरकारको समन्वयमा लोकमार्गको वैकल्पिक सडकका रुपमा बायखोला–झिम्पा सडकको ट्रयाक खोलिएको थियो । हर्पे–पाखापानी–ढुवाखोर सडक गाउँपालिकाले आव २०७६÷०७७ मा खुलाएको थियो । पाँच वर्ष अगाडि निर्माण भएको वैकल्पिक सडक साँघुरो र जोखिमयुक्त रहेको हुँदा गाउँपालिकाले यस सडकलाई अघिल्लो आवदेखि स्तरोन्नति गर्न थालेको छ ।
हर्पे–पाखापानी–ढुवाखोर सडकलाई यस वर्ष स्तरीकरण गर्न थालिएको हो । वैकल्पिक सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको स्थानीय बताउँछन् । यो सडकले ढोरपाटन नगरपालिका–२ देखि निसीखोला गाउँपालिका–५ जोडेको छ । हर्पे–पाखापानी–ढुवाखोर सडक भने देवीस्थान हुँदै पाखापानी पुगेको छ । यी सडक साँघुरा र अप्ठेरो भएको हुँदा एकै पटक स्तरोन्नति गर्न थालेको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो ।रासस