वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन नदिन जिल्लाभित्रका १६ सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न भइसकेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख डिभिजन वन अृधिकत अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको कार्यक्रमबाट छ सामुदायिक वनमा पोखरी निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “थप चार सामुदायिक वनमा अहिले पोखरी निर्माणको काम भइरहेको छ ।” उहाँले गएको आर्थिक वर्ष २०७८÷७९ मा छवटा र त्यसभन्दा अघिसमेत नमूनाका रूपमा चारवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको जानकारी दिनुभयो ।

सामुदायिक वनमा करिब नौ मिटर लम्बाइ, चार मिटर चौडाइ र एक मिटर गहिराइको पोखरी निर्माण गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । कार्यालयले सामुदायिक वनसँगको लागत साझेदारी पोखरी निर्माण गरेको उहाँले बताउनुभयो । कार्यालयको तर्फबाट छनोटमा परेका सामुदायिक वनलाई रु एक लाख उपलब्ध गराउने र सामुदायिक वनले त्यसको २० प्रतिशत लागत साझेदारीमा पोखरी निर्माण गर्ने गरी कार्यविधि बनाएर कार्यक्रम कार्यान्वयन गरिएको उहाँले भनाइ छ ।

पोखरी निर्माणले जङ्गलमा पानी स्रोतलाई समेत जगर्ने हुने भएकाले पनि कार्यक्रम प्रभावकारी बनेको उहाँले बताउनुभयो । “पोखरी निर्माणपछि एकातर्फ जङ्गली जनावरलाई पानीको अभाव हुन पाउँदैन भने अर्कातिर पानीको स्रोत जोगाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्छ, प्रमुख श्रेष्ठले भन्नुभयो, “वनको बीचमा पोखरी भएपछि डढेलो नियन्त्रणका लागि समेत सजिलो हुन्छ ।”रासस