आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ ।
दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने बढेपछि यहाँ चहलपहल बढेको हो । जिल्लाका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका बजार मातातीर्थ औँसी पर्वले अहिलेदेखि नै भरिभराउ देखिएका हुन् । वैशाख औँसीका दिन मनाइने हिन्दू परम्पराको यो पर्व यसपालि भोलि बिहीबार परेको छ ।
हिन्दू परम्परामा पनि खासमा पर्वते समुदाय मातातीर्थ औँसी पर्वका लागि सामग्री किन्न बजार पुग्दैछन् । अहिलेको चहलपहमा महिलाको विशेष भीड देखिँदो छ । बर्दिबास नगरपालिकाका बर्दिबासचोक, हाथीलेट, खयरमारा र पथलैयाबजारमा आमाको मुख हेर्ने पर्वका लागि सामान किन्ने ग्राहक एकाबिहानदेखि बढेका छन् ।
त्यसैगरी, गौशालानगरपालिकाको गौशाला र कान्तिबजार, औरही नगरपालिकाको औरहीबजार र भङ्गाहा नगरपालिकाको सीतापुरबजारका कपडा पसल र किराना पसल ग्राहकले भरिभराउ देखिएका छन् । पर्वविशेषले कपडा र नरिवल, मिश्री, चकलेटसहितका किराना वस्तुको व्यापार बढेको बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउनुहुन्छ । पर्वले गर्दा विवाहित छोरीचेली आमा भेट्न माइत जाने चलनले आजैदेखि सार्वजनिक यातायातका साधन बस, टेम्पु, अटो, जिप र सफारीजस्ता साधन पनि यात्रुले खचाखच देखिएका छन् ।रासस
