प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ ।
प्रधामन्त्री दाहालले महादेवटार सुरुङ र लेनडाँडा सुरुङ मार्ग तथा निर्माणाधीन सडक तथा पुलको निरीक्षण गर्नुभयो । प्रधानमन्त्री दाहालले विस्तृत परियोजना प्रतिवेदनमा आवश्यक परिमार्जनसहित उच्च गुणस्तरको निर्माण कार्य सम्पन्न गर्न विद्यमान सम्पूर्ण समस्याको समाधानका लागि सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आयोजनाको हालसम्मको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै आयोजनाको कार्यान्वयनमा संलग्न सकलदर्जालाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानमन्त्री दाहालले उच्च हौसलाका साथ राष्ट्रिय गौरवको यस आयोजनालाई सम्पन्न गरी राष्ट्र विकासको प्रयासमा कोसेढुङ्गा थप गर्न सम्बन्धित सबैलाई आह्वान पनि गर्नुभयो ।
यसअघि उहाँलाई आयोजनाको वर्तमान अवस्था र प्रगतिबारेमा जानकारी गराइएको थियो । प्रधानमन्त्री दाहालसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्य सचिव शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयाल तथा विभिन्न मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो ।
विसं २०७८ जेठ २ गते ठेक्का सम्झौता सम्पन्न भई निर्माण सुरु भएको यस आयोजनाको हालसम्मको भौतिक प्रगति २२ दशमलव ४४ प्रतिशत र वित्तिय प्रगति करिब २३ प्रतिशत छ । ठेक्का सम्झौता हुन बाँकी खण्डको चालु आर्थिक वर्षको अन्त्यसम्ममा सम्झौता गरिसक्ने ढङ्गले आवश्यक तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले आयोजना कार्यान्वयन अघि बढाउने क्रममा सरकारबाट प्राप्त सहयोग एवं नेपाली सेनामाथिको भरोसाका लागि आभार प्रकट गर्नुभयो । उहाँले जग्गा अधिग्रहण, वातावरणीय प्रभाव मूल्याङ्कनको बाँकी कार्यलगायतका चुनौतीको सम्बोधन हुने अवधिले समग्र आयोजना सम्पन्न हुने अवधिलाई प्रभावित पार्ने भएकाले त्यसमा सम्बन्धित निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।रासस