जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।

पटकपटक अनुरोध गर्दा र दबाब दिँदा पनि ठेकेदारले सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडकखण्ड कालोपत्रको काम नगरेको जनाउँदै जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले आइतबार मन्त्री ज्वालालाई सिंहदरबार स्थित उहाँको कार्यकक्षमै ध्यानाकर्षणपत्र बुझाउनुहुँदै अवरुद्ध सडक कालोपत्रको काम तत्काल सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

ठेकेदारलाई धेरै पटक अनुरोध र दबाब दिँदा पनि काम नभएपछि मन्त्रालयमै पुगेर मन्त्रीलाई ध्यानाकर्षणपत्रमा बुझाउन बाध्य हुनु परेको समन्वय प्रमुख राईले बताउनुभयो । “मन्त्री ज्यूलाई कार्यकक्षमै भेटेर अवरुद्ध कालोपत्रको काम सम्पन्न गरी यातायात सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरिएको छ । ठेक्का लागेको पाँच वर्ष बित्दासमेत भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभीले सडक कालोपत्रको काम सम्पन्न गर्न सकेको छैन”, उहाँले भन्नुभयो, “ठेकेदारले गत चैत पहिलो साताबाट डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्नेलगायतका प्रतिबद्धता जनाएका थिए तर, उसले आफ्नो सेड्युलअनुसार काम नगरेपछि मन्त्री ज्यूलाई भेटेर ध्यानाकार्षणपत्र बुझाएका छौँ । उहाँले चासो देखाउनुभएको छ ।”

जिल्ला समन्वय समितिले खोटाङको ‘लाइफलाइन’का रुपमा रहेको दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार सडक कालोपत्रको काम यथाशीघ्र सम्पन्न गराउनका लागि समेत पहल गर्न मन्त्रीसमक्ष माग आग्रह गरेको छ । महुरे–फोक्सिङटार सडकको महुरे–राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम भारत कन्ट्रक्सन–सिद्धीशाही र सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडकखण्ड (२७ किलोमिटर) कालोपत्रको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ । रासस