यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो । जलजला र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ ।
वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्यावियन र मेसिनरी पर्खाल निर्माण गर्न ती दुई निकायले रु एक÷एक करोड बिनियोजन गरेका थिए । कालिका इन्फ्रास्टक्चर प्रालिले रु एक करोड १५ लाखमा ठेक्का पाएको यो सडक निर्माण सकिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो । विभिन्न ठाउँमा चार सय सात मिटर सडक ढलान र नाली निर्माण भएको इञ्जिनियर सुनल बानियाँले बताउनुभयो । मेसिनरी र ग्यावियन पर्खाल बनाएर सडकको ग्रेड तथा मोड सुधार गरिएको हो । यही वैशाख २५ गतेसम्म सम्झौताको म्याद थियो । म्याद सकिनुभन्दा एक महिनाअघिनै निर्माण व्यवसायीले काम सकेका छन् ।
पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघिनै सडक निर्माण गरेको निर्माण कम्पनीका सञ्चालक विप्लप हमालले जानकारी दिनुभयो । धेरै विकास आयोजना ढिलासुस्तीले अलपत्र र बेवारिसे बनेको अवस्थामा वारीबेनी मल्लाज सडक भने लक्ष्यअघिनै सकिएको छ ।
तीन किलोमिटर दूरीको वारीबेनी मल्लाज सडकको अप्ठ्यारो अधिकांश ठाउँमा ढलान भएपछि यात्रा सहज भएको फट्केढुङ्गाका भगवान जिसीले बताउनुभयो । यो सडक जलजलाको १, २, ३, ४, ५ नम्बर वडाका साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चे, नागीका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।रासस