पोखरा महानगरपालिकाले महानगरभित्रको शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम सार्वजानिक गरेको छ । नगर कार्यपालिका बैठकले शिक्षाको सुधार र व्यवस्थापनका लागि १७ बुँदे कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो । यसका लागि महानगरको शिक्षा समिति तथा शिक्षा परिषद्को सिफारिस तथा अन्य सम्बद्ध निकायको अन्तक्र्रियाबाट प्राप्त सुझावलाई मध्यनजर कार्यक्रम स्वीकृत गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँका अनुसार महानगरभित्रको शैक्षिक क्षेत्रलाई व्यवहारिक, व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले सबै सरोकारवालामा विशेष निर्देशन गरिएको छ । महानगरद्वारा जारी निर्देशन कार्यान्वयन नगरेमा नियमानुसार कारबाहीसमेत हुने महानगरले जनाएको छ ।
महानगरले ल्याएको कार्यक्रमअनुसार अब सबै प्रधानाध्यापकले विद्यालय सुधार एवं विकासको चार वर्षे योजना महानगरमा बुझाउनुपर्नेछ ।

पहिलो वर्षको तेस्रो त्रैमासिकसम्ममा तय गरिएको परिणाम प्राप्त हुन नसकेमा आगामी शैक्षिकसत्रदेखि चार वर्षका लागि नयाँयोजनाका साथ नयाँ प्रधानाध्यापक नियुक्ति प्रक्रियाअघि बढाइने कार्यक्रम महानगरले जनाएको छ ।

महानगरले सबै सामुदायिक तथा संस्थागत विद्यालयले शिक्षा नियमावलीमा उल्लेखित शीर्षकमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधि भर भर्ना शुल्कबापत एक पटक मात्र अधिकतम दुई महिनाको भन्दा बढी शुल्क नलिन निर्देशन दिएको छ ।
रासस