स्याङ्जाको चापाकोट–९ चोसीका लीलबहादुर कामी उमेरले तीन बीस पूरा हुनुभयो । आफू जान्ने भएदेखि अहिलेसम्म निरन्तररुपमा काठका भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । साँचो र लोताको प्रयोग गरी काठका विभिन्न भाँडाकुँडा बनाउन उहाँले आफ्नै बाबुबाजेहरुहरुबाट सिक्नुभयो ।
आम्दानीको मुख्य स्रोतका रुपमा काठको ठेका, ठेकी, मदानी, अम्खोरा, कचौरा, गिलास, थाललगायत सामग्रीहरु निर्माण गर्दै आउनुभएको छ । आधुनिक यन्त्र उपकरण, औजारहरु भित्रिएता पनि उहाँले पुरानै शैलीका साँचो र लोताको प्रयोग गरेर सामग्री उत्पादन गर्नुहुन्छ । आधुनिक औजारले सहज हुनाका साथै थोरै जनशक्तिबाट पनि छिटो काम सकिन्छ तर उहाँ पुरानै औजारहरुको प्रयोग गरेर कडा परिश्रमसहित सामग्रीहरु उत्पादन गर्नुहुन्छ ।
‘कुशल भाँडा उद्योग’ दर्ता गरी व्यावसायिकरुपमा काठका सामग्री उत्पादन गर्ने र बिक्री गर्ने उहाँको दैनिकी हो । पछिल्लो समयमा बजारमा आएका प्लास्टिक र सिलोटका भाँडाले काठका भाँडाकुँडा बिक्री घट्दै गएको उहाँ बताउनुहुुन्छ । “पहिला–पहिला जस्तो आजभोलि काठका भाँडाकुँडाहरु बिक्दैनन्”, उहाँले भन्नुभयो, “प्लास्टिक र सिलोटका भाँडाहरु काठका भाँडाका तुलनामा सस्तो हुन्छन् ।”
पछिल्लो समयमा काठका भाँडाको महत्वका बारेमा थाहा नभएकाले पनि उपभोगमा कमी आएको हुनसक्ने उहाँको दाबी छ । गाउँघरमा पहिला गाईभैँसी पाल्ने र काठको ठेकीमा दही जमाउने, काठकै ठेकामा मोही पार्ने, घ्यू बिक्री गर्ने चलन भएता पनि आजभोलि गाईभैँसी पाल्न छाडेकाले पनि यसको प्रयोग घट्दै गएको हो । बजारमा आएका सस्तो र आधुनिक सामग्रीहरुको प्रयोगका कारण पनि काठका भाँडाकुँडाको प्रयोग घट्दै गएको हो । रासस
