नयाँ वर्षको सुरुआतसँगै यहाँको विभिन्न स्थानमा सुरु भएको बिस्का जात्रा (विस्केट जात्रा) आज सम्पन्न भएको छ । गत बिहीबार अर्थात् चैतको अन्तिम दिनदेखि सुरु भएको उक्त जात्रा काभ्रेपलाञ्चोकको बनेपास्थित साँगा र धुलिखेलको श्रीखण्डपुरमा सुरु भएको थियो ।

जात्राको अन्तिम दिन आज अपराह्न साँगा र श्रीखण्डपुर दुवै स्थानमा लिङ्गो ढालेर वैदिक कर्मअनुसार रथबाट देवताका मूर्तिहरु देव घरमा भित्र्याएर जात्रा समापन गरिएको छ । यहाँ बिस्का जात्रा हजारौँ वर्षदेखि स्थान विशेष मौलिकतामा मनाउँदै आइएको बताइन्छ । बिस्का जात्रा भक्तपुरसहित नेपालका आठ स्थानमा आफ्नै किसिमले मनाउँदै आइएको छ ।

स्थानीयद्वारा बाजागाजा बजाएर देवदेवता राख्ने रथ सिंगार्दै साँगामा आफ्नै किसिमले मौलिक बिस्केट जात्रा मनाइएको हो । विशेषगरी बिक्रम सम्बत्को अन्तिम दिन बिहीबार साँगाको पूरानो बजारमा लिङ्गो उभ्याएर सुरु गरिएको थियो । नयाँ वर्षको सुरुआतको दिन अर्थात् जात्राको दोस्रो दिन शुक्रबार बिहान ईताचामा गणेशको मन्दिरमा श्वेत गणेशलाई प्रतिस्थापन गरिएको थियो । त्यहाँ स्थानीयले धुमधामकासाथ पूजार्अना गरेका थिए । उक्त दिन केही स्थानीयले आफ्नो शरीरभरी दियो बालेर कठोर अवस्थामा व्रत पनि बसेको स्थानीय राजु मधिकर्मी श्रेष्ठले बताउनुभयो ।

उक्त दिन गणेशलाई बेलुकीपख खुल्चाखुसीमा खटमा राखी त्यहाँ व्रत बस्ने विशेषत महिला श्रद्धालुहरूले पहिलो पटक खटको गणेशलाई लाइन बसेर पूजा गरेका थिए । गहिरो ठाउँ सानो खोलो खुल्चाखुसीको बीचमा वरिपरिबाट स्थानीयले श्रद्धास्वरुप चटामरी अन्य खाद्य सामग्री रथमा चढाउने गर्छन् । केही वर्षदेखि बिस्कुट, चाउचाउ अन्य खाद्यान्न सामान चढाउने गर्दै आइएको छ ।
रासस