कपन क्षेत्रमा बर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन शुरु भएको छ ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर आयोजनालाई धोबीखोला करिडोर तथा कपन बुढानिलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नामाकरण भएर परामर्शदातामार्फत अध्ययन शुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आबश्यक संरचना बनाउनुपर्ने छ ।”

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताउनुभयो । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।”

कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन शुरु भएपनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ । चालु आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो । “आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उहाँको भनाइ छ । रासस