नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताउनुभयो ।
डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।
“डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ”, राणाले भन्नुभयो, ‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।”
गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उहाँको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याउनुभयो ।रासस