अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरूविरुद्ध रु ६९ करोड माग दाबी गर्दै मुद्दा दायर गरिएको हो ।

निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आयोगले पौडलविरुद्ध रु ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ माग दाबी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीनकुमार पोखरेलविरुद्ध रु ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५ माग दाबी गरिएको छ ।

त्यस्तै, सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध रु २० करोड ३८ लाख ९३ हजार आठ सय २७ बिगो माग दाबी गरिएको छ ।

तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मणिकमान महर्जनविरुद्ध रु तीन करोड ४४ लाख ६८ हजार सात सय २९ माग दाबी गरिएको छ ।रासस