नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् ।
यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल जोडिएपछि टेम्केमैयुङ चखेवा र टेम्के डाँडामा पनि मानिस नयाँ वर्ष मनाउन पुगेका छन् । प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक सुन्तले पुग्ने गरेका छन् ।
भोजपुर सदरमुकाम र दिङ्ला सडकखण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तब्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।
सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहहरुले पनि पर्यटीकय क्षेत्रको रुपमा विकास गरिरहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ । सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवा भञ्ज्याङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ । रासस
