सर्वोच्च शिखर सगरमाथा आरोहणमा जान लाग्नुभएका नेपाल प्रहरी गण सामाखुसीमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीलाई आज झण्डा हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँमा आज आयोजित एक कर्याक्रमका बीच प्रहरी वरिष्ठ नायब निरीक्षक नेपालीलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा, इन्टरपोलको झण्डा एवं आरोहणमा प्रयोग हुने सामग्री हस्तान्तरण गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा उहाँले सगरमाथा आरोहण गर्न लाग्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले आरोहणमा जान लागेको टोलीलाई यात्राको सहज, सुखद एवं सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवं सहजीकरण गर्ने विभिन्न सरकारी निकाय तथा इलाइट हिमालयन एड्भेन्चरलाई पनि धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार उक्त सगरमाथा आरोहण स्वीकृत भएको थियो । नेपालीले माउन्टेनियरिङ तालिम प्राप्त गरी छ हजार चार सय ७६ मिटर उचाइको मिरा पिकलगायत अन्य हिमाल सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरिसक्नुभएको छ ।
सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औँ वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने योजना बनाएको छ ।
यस आरोहणमार्फत कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिने र कानून कार्यान्वयनमा नेपालको पूर्णरूपमा ऐक्यबद्धता रहेको भन्ने महत्त्वपूर्ण सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिएको छ । रासस